लक डाउनमा शिक्षकको तलव

समय धेरै भएको छैन |  कोभिडको महामारीले ग्रस्त बनाएको जनजीवन विस्तारै सम्हालिदै थियो | बिस्तारै मानिसको चहलपहल सुरु हुदै थियो, सरकारले लक डाउन लाई खुकुलो बनाउदै प्राय हटाएको अवस्था आउदै थियो, अस्पताल, बजार, यातायातका साधन बिस्तारै खुल्दै थिए | सरकारी कार्यालयका कारिन्दा पनि लामो समय घरबाटै र पछी आलोपालो गरी कार्यालयबाट सेवा प्रवाहमा जुटिरहेका थिए | सरकारले भौतिक रुपमा विद्यार्थीलाई नाभेट्नु भन्दै गर्दा पनि   शिक्षकहरुले आफ्नै प्रयासमा लुकिछिपी समुदायमा चलाएका  घुम्ती कक्षा र  रेडियो तथा  टेलिभिजन र अन्य तरिकाले संचालनमा रहेका शिक्षण संस्थाका बैकल्पिक सिकाई सहजीकरणका कक्षाहरु भौतिक रुपमा संचालन हुने तरखरमा थिए | राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाको समयतालिका प्रकाशन गरिसकेको थियो भने कक्षा ११ को परिक्षा लिन विद्यालयहरु लाई बाटो खुला गरिसकेको थियो | विस्तारै सडकमा संसाथागत विद्यालयका विद्यार्थी बोक्ने गाडीहरु दौडन थालेका देखिन्थे | बजार , शैलुन , सिनेमाघर खुल्ने तरखरमा थिए | नानिदाएका शिक्षकहरु समयको सदुपयोग गर्दै विभिन्न संस्था र शिक्षकका पेशागत संगठनहरुले संचालन गरेका प्रविधि मैत्री तालिमका कक्षा र कार्यक्रमबाट आफुलाई  कम्पुटर सिप र आधुनिक सुचना प्रविधिको सिप र ज्ञानबाट सिंचित गरिरहेका देखिन्थे भने निदाएका शिक्षकहरुको कुरा नै नगरौ , उनीहरुको निद्रा पुरा भएकै थिएन | ती शिक्षक मित्रहरु प्रश्न गर्दै थिए , लक डाउन खुल्यो र ?


यस्तै यस्तै उकुसमुकुस अवस्था र परिदृश्यबाट  एक कर्मयोगी शिक्षकको दिनचर्या चल्दै थियो | विद्यार्थी र विद्यालय भनेपछि विहान ६ बजे बाट साँझ ६ बजे सम्म पनि भोक र तिर्खालाई भुसुक्कै बिर्सेर कार्यक्षेत्रमा खटिरहेका थिए ती शिक्षक | प्राचिन ऋषि मुनिहरुले  स्वास प्रस्वाश रोकेर योगसाधना गर्दा झैँ छिमेकका  विद्यालयहरु योग साधनामा तल्लीन रहेको समयमा पनि ती शिक्षकले आफु सक्रिय भएर कुम्भकर्ण झै गरी  सुतेका स्कूले प्रशासक र आपनै पेशागत जातीलाई सक्रिय बनाउने प्रयास गर्दै गरेको भान हुन्थ्यो | यतिको कर्मयोगी र मेहनतमा जुटेको शिक्षकलाई एक्लो वृहस्पति झुठो हुन्छ भन्ने उखान हेक्का नभएको देखेर मलाई सधै खुल्दुली भैरहन्थ्यो | किन उनले यति मरिहात्ते गरेको होला ? भन्ने लाग्थ्यो | आफ्ना समकक्षीले जस्तै गरे पनि त उनको दिनचर्या चल्थ्यो नि ? झै लाग्थ्यो मलाई |  कुरा एक दिनको हो , ती शिक्षकको अनुहार  अलि मलिन थियो | मलिनाताको कारण सोध्न मलाई निकै कठिन भयो | मैले धेरै बेर उनको मलिनाताको कारण सोधपुछ गर्ने आँट नै गरिन | मेरो सोधाई कतै उनलाई काटेको घाउमा नूनचुक छरेको जस्तो पो हुने हो कि भन्ने डर लागि रहेको थियो | मेरो मनको उकुस्मुसाहटलाई मैले विस्तारै क्रमभंग गर्ने मनमनै निस्चय गरे | अनि उपयुक्त अवस्था मिलाएर म उनको नजिक गएँ | मैले सधै झैँ सर नमस्कार भनी सम्बोधन गरे | कुनै गहिरो चिन्तनमा चुर्लुम्म डुबुल्की मारेर आफु वरपरको वातावरणमा भैरहेका गतिविधिलाई समेत वास्ता नगरे झैँ गरी झल्यास हुँदै , अहो ! नमस्ते सर, भनी नमस्ते फर्काए | मैले, सर आरामै हुनुहुन्छ ? घरपरिवार सबैलाई सन्चै त छ नि ? उनले प्रतिउत्तर दिन नपाउदै अर्को प्रश्न गरे |  अँ सर ठिकै छ | म ठिकै छु , परिवारलाई पनि ठिकै छ , बरु तपाई र तपाइको परिवारको हालखवर बताउनोस  न ? उनले मलाइ प्रति प्रश्न गरे | मैले पनि ठिक छौ सर भनी जवाफ दिएँ | मैले कुरा थापें |  यो लक डाउनको कारणले  तपाईहरुको तलव के भै रहेको छ नि सर ? उनले भने हामी स्थायी शिक्षकले त तलव बुझिरहेका छौ | स्थानीय तहहरुले शिक्षकको तह अनुसार केहि दिनको तलव काटेर कोरोना राहत कोषमा जम्मा गरिदिए | बरु ... उनी रोकिए | उनले निरन्तरता दिन नभ्याउदै  बरु ...के त सर ? मैले प्रश्न गरे | उनले थपे , बरु .... संस्थागत र सामुदायिक विद्यालयका पूर्णकालीन र आंशिक शिक्षकहरुले पुरा महिनाको तलव पाउनु  भएको छैन | उनको उत्तरमा समानुभुती झल्केको महसुस गर्न मलाइ समय खर्च गर्नु नै परेन | अहो ! विडम्बना पो भएछ त मैले भन्दै गएँ | उसो भए ती माडसावहरुको  दशैँ  र तिहार पनि कतै  उधारो त भएन ? मैले प्रश्न गरे | उधारो मात्र हो र हजुर खल्लो, महाखाल्लो  र नखाउँ भने दिनभरको सिकार खाउ भने कान्छा बाबुको अनुहार नै भयो नि ! उनको उत्तर थियो | संगै काम गर्नेसाथीले  तलव र चाडपर्व खर्च पाउदा वहाँहरुको तलवको केहि अंश पनि नआउनु निकै लज्जास्पद भयो | संस्थागत विद्यालयको त के कुरा गर्नु र ! नाफा कमाउन सम्म कमाए | अहिले ३/४ महिना विद्यार्थीसंग शुल्क उठाउन नपाउदा हामीले त्यो पढाई नभएको समयको तलव दिन सकेनौ भने  | उनले थप्दै गए | हुँदा हुँदा  लक डाउन अवधिको समेत शुल्क उठाएका सामुदायिक विद्यालयले नै आफ्ना निजि स्रोत र आशिक शिक्षकलाई तलव दिएनन , कति विद्यालयले बेतालवी बिदा नै दिए | कतिले त आफ्नो भक्तिभाव नगर्ने शिक्षकलाई अवकाश गर्ने उपयुक्त मौका नै पो बनाए | मैले थपे , यस्तो पनि हुन्छ र सर ?  चाहिदाको भाँडो नाचाहिदाको ठाडो बनाउन पाईन्छ  ? उनले थपे , संघीय सरकारले निर्देशिका, कार्ययोजना, निर्देशन र केही शिक्षकको तलव दियो | मन्त्रलाय काम भन्दा पनि गफ गर्नमा मै माग्न देखियो | प्रदेश सरकार शिक्षकको शरीर त चिन्दैन परै जाओस उसले शिक्षकको गन्ध समेत थाहा पाउदैन | स्थानीय सरकारको त झन के नै पो कुरा गरौ र ! अन्य क्षेत्रको बजेट पनि कोभिड राहतमा खर्च भयो भन्छ | आयोजना अलपत्र छन् तर  पालिकाका सवारी साधनका नम्बरमा प्राप्त हुने ईन्धन र मर्मतको बील रोकिएको छैन रे ! अनुगमन भत्ता गएकै छ रे | कार्यालय नचले पनि चिया खाजाको खर्च कम भएको छैन भन्छन चिया पसलेहरु ! उनले आश्चार्य प्रकट गर्दै  थप्छन धन्न शिक्षक तलव नपाए पनि धानिएका छन् , बाचेका  छन् | मलाई पनि जिज्ञासा लाग्यो र सोधे | सर, अनि तपाइहरुले आफ्नो सहकर्मीले तलव नपाउदा विद्यालय प्रशासन  र विद्यालय व्यवस्थापन समिति संग ती साथीहरुलाई तलव दिनु पर्यो , किन नभन्नु भएको नि  ?  कि  विद्यालयको खातामा पैसा छैन भन्ने जानेर नसोध्नु भएको ? लामो सुस्केरा हालेर उनले भने , कुरा नगरेको होइन नि सर ! हाम्रा धेरै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यालयमा कुनै प्रोजेक्टको लागि बजेट बिनियोजन भएको सुनेपछि मात्र "हाँडीमा कनिका रहुन्जेल .....लाई निद्रा लाग्दैन " जस्तै गरी सक्रिय हुन्छन | केहि प्रधानाध्यापकहरु सहयोगी पक्कै छन् तर केहि भने मानवियताको "मा " सम्म उच्चारण गर्न मन नपराउने, जन्मजात प्रधानाध्यापकको पद मेरै हो झैँ गर्ने , नेताहरुको अघि पछी मात्र गर्ने, शिक्षकले चाकरी र चाप्लुसी गरिदेओस भन्ने चाहना राख्ने, आफै विद्यालय नआउने अर्को शिक्षकलाई किन नआएको भनेर चोर औला उठाउने, उपस्थित नहुदाको दिनको पनि हाजिरी रजिस्ट्ररमा हाजिरी गर्ने, विद्यालय सुशासनलाई खल्तीमा लिएर हिड्ने , आफ्नो अघि पछी गरि हो मा हो मिलाउने शिक्षकलाई सुविधाले डुवाईदिने, आफ्नो भन्दा फरक विचार राख्ने शिक्षक /कर्मचारीलाई आखांको कसिंगर ठान्ने, निश्चित शिक्षकको गुट बनाएर त्यो गुट भित्र रमाउने, तार्किक कुरा गर्न खोज्ने लाई बढी बोल्नुहुन्छ ? भनि धम्काउने र आफुले कुनै तरिकाले दमन गर्न नसक्नेको अवस्थामा स्वयं चाकरी गर्ने |  यस्ता बाट के नै पो अपेक्षा गर्न सकिन्छ र हजुर | मैले भने ,तपाईहरुले पनि त आफ्नो धर्म  निभाउनु पर्यो नि सर | सुन्नु हुन्छ धर्म निभाउदा कस्तो जवाफ पाइन्छ ? उनले प्रश्न गरे  | मलाई पनि जिज्ञासा लाग्यो र हो मा हो मिलाउदै भने , बताउनोस न सर | तलव कहिले आउछ हेडसर भनी सोधेको त, पैसा जहिले हुन्छ त्यही बेला बल्ल तलव पाईन्छ रे ! उनले भन्दै थिए, यो अवस्थामा आफ्ना समकक्षीले कसरी आफ्नो आर्थिक आवश्यकता पूरा गरेको होला भन्ने चिन्तन त परै जाओस , वडो राजसी र सामन्ती ठाँटका साथ शिक्षकलाई धम्काउने पाराले विना विद्यालय व्यव्स्थापन समितिको निर्णय विद्यालय मेरो मात्र हो भनठानेझैँ गरी जवाफ दिन्छन, सामन्तीहरु  | त्यस्ता प्रशासकहरु जन्मजात आफू शासक र शिक्षक कर्मचारी दास हुन भन्ने मानोविज्ञानबाट उम्कन सकेका छैनन् |

मलाई पनि अचम्म लाग्यो र सोधे ,  हाम्रा विद्यालयमा बाहिरबाट  देखिएको जस्तो सुशासन छैन त उसो भए ? विद्यालयीय बातावरण शिक्षकमैत्री छैन त ? उनले भने,  टुप्पाबाट पलाएका प्रधानाध्यापक भएका विद्यालयको विडम्बना यस्तै हो , सुशासन र सिस्टम प्रधानाध्यापकको खल्तीको पैसा हो , जलाई , जतिखेर , जुन रुपमा पनि प्रयोग गर्न मिल्ने  तर सबै प्रधानाध्यापक भने त्यस्ता  छैनन् , कति प्रधानाध्यापकले त विद्यालयलाई हरेक तरिकाले उचाईमा पुर्याएका छन् |

मैले थपे , विद्यालयम मात्र कहाँ  हो र सर अहिले सबै क्षेत्र प्राय: उस्तै उस्तै छन् | धेरै चिन्ता नलिनुस | विद्यार्थी संग सिकाईमा  जुट्नु शिक्षकको धर्म हो , तपाई शिक्षकहरु त्यसमै रमाउनु पर्छ होला, होइन र  सर ? यसो भन्दै गर्दा नाजायज कुराहरु प्रति खवरदारी नगर्नोस भन्न खोजेको होइन नि मैले | 

अहो समय पनि धेरै भएछ ! फेरी फेरी कुराकानी गरौला ल सर | ल त नमस्कार

हवस् सर नमस्कार , तपाई संग कुरा गर्दा खुसी लाग्यो, उनले भने  | फेरी भेटौला सर , भन्दै म पनि उनी संग विदा भए ||

Share:

एक शिक्षकको अनुरोध !

आदरणीय जनप्रतिनिधि , शिक्षा अधिकृत, अभिभावक , प्रधानाध्यापक, शिक्षक , विद्यार्थी लगायत सम्पूर्ण शिक्षा सरोकार व्यक्तित्वहरु !
२०७६ साल चैत्र ११ गतेबाट नेपाल सरकारले कोभिड-१९ को संक्रमणको नियन्त्रणको प्रयाश स्वरूप लामो समय अवधि सम्म लक डाउन गर्यो | लामो समय अवधिको लक डाउनले देश भरिको जनजीवन अस्तव्यस्त भएको महसुस गरी खुकुलो लकडाउन हुदै अहिले लकडाउन पूर्णत: हटेको अवस्था छ | यद्दपी कोभिड -१९ को संक्रमणको दर दिनानुदिन बढिरहेको कुरा प्राप्त तथ्यांकहरुले पुष्टि गरि रहेका छन्  | आज मात्र एकै दिन ५००० बढी नेपालीलाई  कोरोना पुष्टि भएको छ |
गत चैत्र देखि हाल सम्म आईपुग्दा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका,२०७७ र विद्यार्थी सिकाई सहजीकरण निर्देशिका,२०७७ जारी गरि विभिन्न विधिहरुबाट विद्यार्थी सिकाईलाई निरंतरता दिन बाटो खोलेको छ ,विद्यालयलाई  निर्देशन गरेको छ | विद्यार्थी सिकाई सहजीकरण निर्देशिका,२०७७ ले विद्यालयमा गत वर्षको वार्षिक परिक्षामा सहभागी विद्यार्थीलाई आधार मानेर विद्यार्थीहरुको वर्गीकरण गरि कुनै पनि किसिमको प्रविधिको पहुच नभएका विद्यार्थीहरुको समुहलाई सिकाई सहजीकरण गर्न विद्यालय भवनलाई सिकाई केन्द्र बनाउन सकिने प्रावधान कायम गरे पश्चात एकातिर अधिकाश संस्थागत विद्यालय र केहि सहर केन्द्रित र सुबिधा सम्पन्न सामुदायिक विद्यालय जसले लक डाउन अवधिमा समेत अनलाईन कक्षा संचालन गर्दा सफलता पाएका थिए उनीहरुले समेत विद्यालय भवनलाई सिकाई केन्द्र बनाउन सकिने प्रावधानलाई टेकेर अनलाइन कक्षा समेत बन्द गरी विद्यार्थी र अभिभावकलाई मनोबैज्ञानिक दवाव सिर्जना गरी विद्यार्थीको भौतिक उपस्थितिमा सामान्य परिस्थितीमा झै कक्षा संचालन गरिरहेका छन् भने सुविधा विहिन विद्यालयहरुले यो विकल्पको भरपुर प्रयोग गरिरहेका छन् तर विद्यालय हरुले स्वास्थ्यका निर्धारित मापदण्डहरुको पूर्ण  पालना भने गरेका छैनन |
यो परिदृश्यमा अवका दिनमा कोभिड-१९ को संक्रमणको सिकार हुने समुह विद्यार्थी र शिक्षक नै हो, यसमा दुइमत हुने सक्दैन | हामीले आजका दिन सम्म जे जसरी सिकाइ सहजीकरण गर्यौ अव आगामी दिनमा पनि उही विधि र शैलीले सिकाई सहजीकरण गरिरहयौ भने हाम्रा विद्यालयहरु कोभिड-१९ को हव बन्नेछन् | तसर्थ आगामी दिनमा सिकाई सहजीकरणलाई निम्नानुसार निरन्तरता दिन मेरो सुझाव छ |
१. प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५ साम्मका विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्न सम्भव भएसम्म उनीहरु जुन टोल र समुदायमा छन, सोहि टोलमै रहेका शिक्षकहरुलाई परिचालन गरौ | टोल पिच्छे शिक्षक उपलव्ध हुने कुरा कठिन पनि हुन सक्छ, यस्तो अवस्थामा सोहि टोलकै माथिल्लो कक्षा (कक्षा १०,११ र १२ ) का विद्यार्हीलाई स्वयंसेवक छनौट गरि सिकाई सजीकरण गरौ | यदि त्यो सम्भव देखिएन भने पालिका वा विद्यालयले नै  स्वयम् सेवक सहजकर्ता छनोट गरी परिचालन गरौ वा टोल भित्र रहेका शिक्षित अभिभावक , NGO र INGO का सामाजिक परिचालक लाई  स्वयम् सेवक सहजकर्ता भई सेवा प्रदान गर्न  अनुरोध गरौ |  
२. कक्षा ६ देखि १२ को हकमा विषयगत शिक्षकहरुले विद्यार्थीको न्यूनतम सिकाई उपलव्धि सुनिस्चित हुने गरी विषयगत स्वाध्ययन सामग्री ( विषयगत नोट, सारांश , प्रश्नको समाधान आदि ) तयार गरि विद्यार्थीलाई उपलव्ध गराऔ र स्वअध्ययनमा जोड दिऊ |
३. कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थी अथवा अभिभावकलाई हाल नेपाल टेलिकमले निशुल्क रुपमा उपलव्ध गराउदै आएको रू ९९ मा महिनाभरी अनलिमिटेड कल सुबिधा र ५ GB डाटा रहेको पाठसाला CUG सिमकार्ड मार्फत शिक्षक र विद्यालय प्रशासन संग जोडौ | यसो गर्नाले अभिभावक, सहजकर्ता, विद्यार्थी लगायत सबै एउटा सिकाई समुहमा आवद्ध हुन गई कल सम्पर्क र ठुला कक्षाका विद्यार्थी र साना कक्षाका अविभावक को विचमा भर्चुअल सम्पर्क स्थापित गर्न सहयोग मिल्छ | यसले शिक्षकलाई विद्यार्थीको गतिविधि बुझ्न सहयोग  पुर्याउने छ |
४. सवाध्ययानको क्रममा विद्यार्थी लगायत सम्बद्ध पक्षलाई पर्ने असजिलो हटाउन कम्तिमा १५ दिनमा एक पटक सुरक्षा र सतर्कता पुर्वक विद्यालय विद्यार्थीको घरमा पुग्ने वातावरण निर्माण गरौ |
आदरणीय व्यक्तित्वहरु ! दिनानुदिन बढिरहेको यो सक्रमणको अवस्थामा भौतिक रुपमा विद्यार्थीलाई विद्यालय परिसरमा सिकाई सहजीकरणको लागि उपस्थित नबनाऔ | विद्यालयलाई कोभिडको हव बन्न नदिऊ | आफु बचौ ! अरुलाई पनि बचाऔ !

अनुरोधक

कृष्णप्रसाद ज्ञवाली  
शिक्षक भगलापुर माध्यमिक विद्यालय , रुपन्देही
 
Share:

ह्वीप (Whip)

 ह्वीपको सामान्य अर्थ कोर्रा हो तर यो संसद्को कारवाहीको अंग पनि हो | ह्वीप भनेको एक किसिमको निर्देशन हो | पार्टीले आफ्ना संसदीय दलका सचेतक र आफ्ना सभासदलाई बोल्दा ,मतदान गर्दा वा संसदीय काम कारवाहीमा पार्टीको खास एजेन्डाबाट सभासदहरु बहकिन नपाउन र आफ्नो स्वतन्त्रता प्रदर्शन गरी पार्टीको एजेन्डालाई कम्जोर बनाई पार्टीलाई पार्टीको एजेन्डामा हार नदिलाउँन भनी लगाईएको हुन्छ |



ह्वीप उलंघन गरेमा ह्वीप उलंघन गर्ने सदस्यहरुलाई पार्टीको संसदीय समितिले  कारवाही गर्न सक्ने र दल सम्बन्धी ऐन अनुसार सभासदबाट  हटाउन सक्ने सम्मको कारवाही हुन सक्छ | यो पार्टीले आफ्ना सभासद हरुलाई अनुशासनमा राख्न लगाउने एक वाध्यकारी नियम पनि हो | यो उलंघन गर्नु भनेको विपविरुद्धको विद्रोह हो | पार्टी ह्वीप उलंघन गर्ने सांसद हरुलाई डिसिडेन्ट पनि भन्ने गरिन्छ  

नेपालको संविधानसभामा ह्विप लाग्ने वा नलाग्ने भन्नेबारेमा निकै ठुलो भएको थियो। ह्विप नगर्दा गोलमाल हुने र पार्टीको निर्णयलाई व्यवस्थित विधान निर्माणमा लगाउन नसक्ने भनी यसको पक्षमा ठूला दलहरूले तर्क दिएका ने अत्यले संविधानको निर्माण गर्ने जस्ता कार्यमा स्वविवेकी अधिकार उपयोग गर्न दिनपर्दछ भन्ने धारणा अघि सारेका थिए। यद्दपी यसलाई  प्रदेश सभामा समेत पार्टीहरुले लगाउदै आएका छन्  |

Share:

सोसोन रुपन्देही गठन, अध्यक्षमा गोविन्दप्रसाद काराखेती !

 

सामाजिक अध्ययन विषयका शिक्षकहरू र यसको विकास तथा प्रवर्धनमा  संलग्न विज्ञहरू बीचमा समन्वय कायम राखी एउटै विषयगत संस्थाका रुपमा एकतावद्ध गर्दै  सामाजिक अध्ययन विषयका शिक्षकको क्षमता अभिवृद्धि गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विषयसँग सम्बन्धित तालिम, सभा, सम्मेलन, सेमिनार, गोष्ठि, कार्यशाला आयोजना गर्ने मूल उद्धेश्यका साथ वि स २०७५ सालमा केन्द्रीय स्तरमा गठित  सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल-sososn को १९ औ शाखाको रुपमा रुपन्देही जिल्ला शाखा एक भर्चुअल कार्यक्रमको वीच गठन गरिएको  छ |

जिल्लामा कार्यरत सामाजिक शिक्षकहरुको २०७७ श्रावण महिनाको २८ गते बुधवार भएको  भर्चुअल भेला मार्फत रुपन्देही शाखाका पदाधिकारीहरुको चयन गरिएको हो । श्री टिकुलीगढ माध्यमिक विद्यालयका शिक्षक तथा शिक्षा तालिम केन्द्र रुपन्देहीका रोष्टर प्रशिक्षक श्री गोबिन्दप्रसाद  काराखेतिको अध्यक्षतामा गठित ९ सदस्यीय जिल्ला समितिमा उपाध्यक्ष श्री ईन्दिरा गिरि, सचिब, कृष्णप्रसाद ज्ञवाली, कोषाध्यक्ष जानुका लम्साल रहनुभएको छ भने सदस्यहरुमा सफात अली मुसलमान, विजया पाण्डे खनाल, डोरनाथ पौडेल, गायत्रीप्रसाद खरेल र जगन्नाथ ढुंगाना  रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा श्री जनकल्याण मा वि सैनामैनाका प्रधानाध्यापक अर्जुनप्रसाद पोखरेल , शिवपुर मा बि  तिलोतामाका  शिक्षक श्री केशवराज भण्डारी, जनजागृति मा वि बुटवलका प्रधानाध्यापक श्री टंक पौडेल  केरवानी माध्यमिक विद्यालयका शिक्षक निर्मल ढुंगाना रहनुभएको छ ।

 

जिल्लाभर सामाजिक विषय अध्यापन गरिरहेका सबै शिक्षकहरुलाई क्रमशः आवद्ध गराउँदै विषयगत दक्षता र पेशागत विकासमा सहयोग पुर्याउने गरी अनुभव तथा सिकाइको आदानप्रदान सहित विभिन्न सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न तत्काल योजना बनाइ अगाडी बढ्ने नवगठित जिल्ला समिति अध्यक्ष गोविन्द काराखेतीले  जानकारी दिनुभएको छ ।

जिल्लाका सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुको आधुनिक सुचना प्रविधिमा क्षमता अभिबृद्दी गर्दै सामाजिक विषयको लागि आवश्यक पर्ने डिजिटल सामग्री विकास र आदानप्रदान गर्ने निर्णय सहित  जिल्ला समितिको पहिलो बैठक सम्पन्न भैसकेको र जिल्ला भित्रका १६ वटै स्थानीय तह सम्म sososn रुपन्देहीको विस्तार गर्न, केन्द्रले सन्चालन गरिरहेको भर्चुअल तालिमको संयोजन रुपन्देही शाखाले गर्ने सम्बन्धमा र  निकट भविष्यमा रुपन्देहीका स्थानीय तह र सोसोन केन्द्रसँग समवय गरी सामाजिक शिक्षकहरुका लागि तालिम कार्यक्रम सन्चालन गर्ने सम्बन्धमा व्यापक छफल गर्न लागिएको नवगठित जिल्ला समिति सचिव कृष्णप्रसाद ज्ञवालीले  जानकारी दिनुभयो  

 समाजका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टद्द्वारा अध्यक्षता गरिएको उक्त अनलाइन भेलामा उपध्यक्षद्वय शान्ता ढकाल र सूर्य गुरुङ ,महासचिव ज्ञान बहादुर अधिकारी कोषाध्यक्ष सुशिला ढकाल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सन्चालन/ संयोजन SOSON- चितवन अध्यक्ष बुद्धिबहादुर खड्काले गर्नु भएको थियो |

Share:

Featured Post

लक डाउनमा शिक्षकको तलव

समय धेरै भएको छैन |   कोभिडको महामारीले ग्रस्त बनाएको जनजीवन विस्तारै सम्हालिदै थियो | बिस्तारै मानिसको चहलपहल सुरु हुदै थियो, सरकारले लक डा...

Popular Posts

Contact Form

Name

Email *

Message *

Search This Blog

Copyright © कृष्णप्रसाद ज्ञवाली | Design by:- Krishna Prasad Gyawali |